काठमाडौं– ललितपुरको ग्वार्कोमा पैदलयात्रीलाई ठक्कर दिएर फरार भएको गाडी र चालकलाई प्रहरीले १ सातापछि नियन्त्रणमा लिएको छ।
कात्तिक १२ गते बेलुका ७:५० बजेतिर ग्वार्कोमा बाटो काट्दै गरेकी एक युवतीलाई गाडीले ठक्कर दिएर फरार भएको थियो।
नम्बर प्लेट नखेलेको गाडीले ठक्कर दिँदा अन्दाजी २० वर्ष जतिकी युवती गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि अस्पताल पठाइएपछि उपचारकै क्रममा मृत्यु भएको थियो। गाडीको ठक्करबाट मुत्यु हुने महिलाको अहिलेसम्म पहिचान समेत खुल्न सकेको छैन।
युवतीलाई ठक्कर दिएर फरार भएको नम्बर प्लेट समेत नखुलेको गाडी त्यसका चालकलाई भने जिल्ला प्रहरी परिसर ललितपुरले एक सातापछि नियन्त्रणमा लिएको छ।
घटनामा सम्बन्धमा देख्ने मानिसहरुले इम्बोस्ट नम्बर प्लेट भएको र पछाडिको सिसामा २ वटा स्टीकर टाँसिएको भन्ने विवरण खुलाएपछि अनुसन्धानलाई तीव्रता दिएको प्रहरीले एक सातापछि गाडी पहिचान गरेर चालकलाई नियन्त्रणमा लिएको हो।
युवतीलाई ठक्कर दिने गाडी बागमती प्रदेश बी एए ५५६३ भएको भन्ने पहिचान भएपछि उक्त गाडी र त्यसका चालक प्युठानको प्युठान नगरपालिका–२ का ४७ वर्षीय वीरबहादुर राउतलाई नियन्त्रणमा लिएको परिसर ललितपुरका प्रवक्ता तथा एसपी सुधीरराज शाहीले बताए।
शनिबार गाडीसहित पक्राउ परेका चालकलाई सवारी ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
मृतक युवतीको भने अहिलेसम्म पहिचान खुल्न नसकेकाले प्रहरीले कोही कसैका आफन्त हराएको भएमा परिसर ललितपुरमा सम्पर्क गर्न समेत आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।