धनगढी- संविधान संशोधन, संघीय संरचना पुनर्गठन र टीकापुर घटनालाई प्रमुख मुद्दा बनाउँदै आएको जनता समाजवादी पार्टीले घोषणापत्रमा भने टीकापुर घटनालाई समेट्न सकेन। जसपाले टीकापुर घटनालाई राजनीतिकरण गर्नुपर्ने माग गर्दै आइरहेको थियो।
शनिबार जारी भएको जसपाको घोषणापत्रमा संविधान संशोधन र पहिचानसहितको संघीयतालाई प्रमुख एजेण्डा बनाइएको छ। पार्टीले आफ्नो घोषणापत्रमार्फत संविधान संशोधनको माग अघि सारेको छ।
जसपा कैलालीका अध्यक्ष ग्याप्रसाद कुश्मीले आफुहरुले सुरुदेखि नै टीकापुर घटनालाई राजनीतिक मुद्दा बनाइनुपर्ने माग अघि सार्दै आइरहेको बताए। उनले भने, ‘अहिले पनि हामी टीकापुर घटनालाई राजनीतिक मुद्दा बनाइनुपर्छ भन्दै आइरहेका छौं। घोषणापत्रमा उल्लेख भए पनि नभए पनि यो घटनामा पार्टीको स्पष्ट धारणा छ।’
नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले बहुमतको बलमा संविधान जारी गरेको जसपाले आरोप लगाउँदै आएको छ।
‘संविधान जारी गर्दाको बखत सिँगो देश दुई कित्तामा विभाजन भयो। यस संविधानमा प्रमुख दलहरूले पहिचान र सामर्थ्यको आधारमा राज्य पुनर्संरचना गर्ने आफैँले घोषणा गरेका तथा पहिलो संविधानसभाले पारित गरेका पुनर्संरचनाका आधारहरूलाई उल्ट्याएका छन्,’ जसपाको घोषणापत्रमा भनिएको छ, ‘तिनीहरूले संविधान सभाको निर्वाचनमा जनताका बीच मत माग्दा पहिचान र सामर्थ्यको आधारमा राज्यको पुनर्संरचना गर्ने प्रतिबद्धतासहित घोषणापत्र जारी गरेका थिए। तर आफ्नो बहुमत भएपछि तीन वटै प्रमुख दल मिलेर आफ्नो घोषणापत्रका विपरीत गएर संविधान जारी गरे।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।