काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका दाङ- ३ का नेकपा (एमाले) उम्मेदवार कोमल वलीलाई निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था छ।
‘तपाईंले निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (ट) को प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गर्नु भएको होइन भन्ने आधार, प्रमाण के छ? निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईंले किन जानाजान रूपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नुभएको हो?,’ आयोगको स्पष्टीकरणमा भनिएको छ।
आयोगले निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नुहुँदैन भन्ने जानकारी हुँदाहुँदै सो कार्य गरेको देखिएकोले आचारसंहिताको उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही किन हुनु नपर्ने हो? भनी पत्र प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय दाङमा प्राप्त हुने गरी जवाफ पठाउन उम्मेदवार वलीलाई निर्देशन दिएको छ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) मा आयोगले दिएको आदेश बमोजिम काम कारवाही नरोक्ने वा बदर नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था पदाधिकारी वा निकायलाइ आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने उल्लेख छ।
त्यस्तै उपदफा (४) मा सम्बन्धित उम्मेदवारले दिएको स्पष्टीकरण चित्त बुझ्दो नभएमा आयोगले निजको उम्मेदवारी पनि रद्द गर्न सक्ने उल्लेख छ।
गत कार्तिक १५ गते उम्मेदवार वलीले दाङको बबई गाउँपालिका– १ गँगटेस्थित सरस्वती जनता माविमा अध्ययनरत बालबालिकालाई भेला गरेर चुनावी प्रचार गरेको भन्दै उजुरी परे पछि आयोगले उनलाई स्पष्टीकरण सोधेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।