पोखरा– कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका लागि उम्मेदवार दिएको ऋगेन्द्र गिरीले आगामी निर्वाचनमा सोच र भोट बदल्नुपर्ने बताएका छन्। स्वतन्त्र रुपमा उम्मेदवार दिएका गिरीले देशलाई समृद्दि र उत्पादनशीलतामा लाने हो भने सोंच र भोट बदल्नुपर्ने जिकिर गरेका हुन् ।
‘ठूला रेलका कुराभन्दा पनि तेल निकालौं, यदि समृद्धि चाहिएको छ भने उत्पादनशीलतातिर जाऊँ। यसपाली निर्वाचनमा सोच र भोट बदलौं’, उनले भने।
राजनीतिलाई समृद्धिसँग जोड्नुपर्ने गिरीले उल्लेख गरे। ‘राजनीति युवासँग जोड्ने भन्दाभन्दै उत्पादनशील युवासँग जोडिनुपर्ने हो, तर गलत युवाहरूसँग जोडिँदै गएको छ। आफ्नै विचारसँग अडिग नभएका युवासँग जोडिएको देखिन्छ’, उनले भने, ‘राजनीतिलाई उत्पादनसँग जोड्नु पर्छ। युवा त सधैँ उत्पादनशील हुन्छन् नि!। यसर्थ, यस्ता युवा उनीहरू राजनीतिमा आउँछन्, जसले राजनीतिको सुन्दरता बढाउँछन्।’
राजनीतिक दलहरूले आफूले लिएका अजेन्डा समेट्न नसक्ने हुँदा आफूले स्वतन्त्र उम्मेदवारी दिएको गिरीले स्पष्ट पारे। लोकल रक्सी ब्रान्डिङ, गाँजाको व्यवसायीकरणका अजेन्डा पार्टीले समेट्न नसक्ने उनको दाबी छ। ‘म कुनै पनि फोरममा गएर उम्मेदवारी दिँदै गर्दा मैले बोकेका मुद्दा जुन लोकल रक्सी र गाँजाको कुरा गरेको छु, औषधिको कुरा गरेको छु’, उनले भने, ‘यी कुराहरू कुनै पनि पार्टीको घोषणापत्रमा समेट्न नसक्ने भएपछि मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ।’
स्थानीय स्रोत र साधनलाई स्थानीय स्तरमै प्रयोग गर्नुपर्नेमा गिरीले जोड दिए। कानुनी प्रक्रिया झन्झट हुँदा स्थानीय स्रोत र साधन खेर गइरहेको उनले बताए। ‘ठूला आश्वासनभन्दा पहिला त वडाहुँदै माथि आत्मनिर्भरको कोर्श अभ्यास गरौं। सालको रुख कुहिएर गइराछ, तर हामीले त्यसलाई फर्निचर बनाएर किन बेच्न सकिरहेका छैनौं? कानुनले किन बर्जित गरेको छ?’, उनले प्रश्न गरे।
जनताका सानातिना समस्या पनि सरकारी पक्षले बेवास्ता गर्दै आएको गिरीले उल्लेख गरे। ‘बाटोमा भएको सानो खाल्डोमा परेर मानिसको ज्यान गइराखेको छ। जुन हरेक वर्षको समस्या बन्दै गएको छ’, उनले भने, ‘त्यो अरबौंको समाधान होइन, १, २ करोड र एउटा इन्जिनियर प्रयोग ग¥यो भने समाधान गर्न सकिन्छ। तर, पनि समाधान हुन सकेको छैन।’
स्वतन्त्र युवालाई जनताका पक्षमा आवाज उठाउन सहज हुने गिरी बताउँछन्। स्वतन्त्र उम्मेदवारले जित हासिल गरे जनताको समस्या छिटो समाधान हुने उनको दाबी छ। ‘जन्म सहजताको अधिकार कुरा गरौं, डोकोमा जन्मिने, बाटोमा जन्मिने व्यवस्थाको अन्त्य गरौं र स्वतन्त्र युवाले बोल्दा केही पनि ह्विप लाग्दैन, राष्ट्रिय होस् या स्थानीय मुद्दा कसैसँग झुक्नुपर्ने वा डराउनुपर्ने या हुँदैन। त्यही भएर मलाई होइन मेरो अजेन्डालाई भोट गरौँ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।