जाजरकोट– मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको सुरक्षा व्यवस्थापनलाई सहज बनाउन भन्दै जाजरकोटमा स्थानीय जात्रा तथा मेलाहरु स्थगित गरिएको छ।
जिल्ला प्रशासन कार्यालयको आदेशमा कात्तिक २० देखि मङ्सिर ४ गतेसम्म जिल्लाभर मेला, जात्रा, महोत्सव, खेलकुद प्रतियोगिताजस्ता कार्याक्रम स्थगित गरिएको हो।
प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानले स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि सबैखालका जनसहभागिता हुने कार्यक्रम बन्द गराइएको बताए।
त्यस्तै, सुरक्षा व्यवस्थापनलाई मजबुद बनाउनका लागि पश्चिम जाजरकोटको वडावनमा सशस्त्र प्रहरीको क्याम्प स्थापना गरिएको प्रजिअ न्यौपानेले जानकारी दिए। उक्त क्याम्पबाट पश्चिम क्षेत्रको सुरक्षा व्यवस्था मजबुद हुने अपेक्षा गरिएको छ। अहिले रहेका सबै सुरक्षाका कार्यालय क्षेत्र नम्बर १ मै छन्।
जिल्ला निर्वाचन कार्यालय जाजरकोटले निर्वाचनको अन्य तयारीसँगै बदर मत घटाउनका लागि नमूना मतदानको कार्यक्रम सञ्चालन गरिएको जानकारी दिएको छ। निर्वाचनमा हुने बदर मतको संख्या घटाउन जिल्लाका सबै पालिकामा नमूना मतदान गरिएको जिल्ला निर्वाचन अधिकारी नवीन कठायतले जानकारी दिए।
पालिकामा रहेका कर्मचारीको सहयोगमा सर्वसाधारणलाई सहित सहभागी बनाएर दल्ली, लिम्सा, खलङ्गा, शिवालय, मनघाट, भाम्र र जुनिचाँदेमा उक्त मतदान गरिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।