काठमाडौं– चोरी तथा डकैती गर्दै हिँड्ने गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शुक्रबार तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी घर भएका २९ वर्षीय जिमी लामा, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका घर भएका २५ वर्षीय दीर्घ लामा र सोही ठाउँका २४ वर्षीय बाबु तामाङ छन्।
उनीहरूमध्ये जिमी यसअघि पनि चोरी मुद्दामा पक्राउ परेर ६ वर्ष ११ महिना जेल बसेर छुटेका व्यक्ति हुन्। दीर्घ भने चोरीकै कसुरमा २ वर्ष र बाबु १ वर्ष ११ महिना जेल बसेर छुटेका व्यक्ति भएको पाइएको छ।
यो समूहले नारायणटार बस्ने एक महिलाको झोला लुटपाट गरी सुनका गरगहना तथा नगद यो समूहले लुटेको थियो। गोकर्णेश्वर–८ मा समेत एक जनाको घरबाट ७ तोला सुनका गहना र १० लाख नगद लुटेर यो समूह फरार भएको पाइएको छ।
उनीहरूबाट प्रहरीले घरको ढोका फुटाउन प्रयोग हुने २ थान रड, चोरीमा प्रयोग भएको मोटरसाइकल, मोबाइल बरामद गरेको छ। पक्राउ परेका तीनै जनाविरुद्ध चोरी तथा डाकासम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ३ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।