काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली निलम्बित कप्तान सन्दीप लामिछानेलाई अदालतले शुक्रबार पुर्पक्षका लागि थुनामा पठाएको छ।
नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका उनलाई जिल्ला अदालतल काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासले पुर्पक्षका लागि केन्द्रीय कारागार पठाउने आदेश दिएसँगै उनी कारागार चलान भएका छन्।
कारागार चलानको आदेश दिएको अदालतले सन्दीपले आफ्नो पब्लिक स्टाटससमेत बिर्सिएको उल्लेख गरेको छ।
आदेशमा लेखिएको छ, ‘भोलिपल्ट अन्तराष्ट्रिय स्तरमा क्रिकेट खेल्न जाँदैगर्दाको आफ्नो गहन जिम्मेवारीलाई नहेरी, बिचार नगरी आफ्नो पब्लिक स्टाटसलाई ख्याल गर्नुपर्नेमा नगरी आफ्नो दिनचर्या एंव क्रियाकलपा पब्लिक अडिट हुन्छ भन्नेतर्फ समेत सचेत रहेको देखिएन।’
मौकामा गरिएका कागजातहरू र अन्य प्रमाणका आधारमा उनी निर्दोष देखिने अवस्था नरहेकाले पुर्पक्षका लागि थुनामा पठाइएको उल्लेख गरिएको छ।
सन्दीपतर्फका वकिलहरूले आफ्नो पक्ष निर्दोष रहेको, बलात्कार जस्तो कसुर नै नभएको र नाबालिग भन्दै दाबी गरिएकी किशोरी बालिग रहेको भन्दै तर्क गरेका थिए। त्यतिमात्रै होइन उनीहरूले पीडित किशोरी बालिग रहेको भन्दै जन्मदर्ताको प्रमाणपत्रसमेत पेश गरेका थिए। यसबारे अदालतले जन्मदर्ताको सक्कल कपी झिकाउनसमेत आदेश दिएको छ ।
‘प्रतिवादीले बयानका साथ पेश गरेको पीडितको जन्मदर्ताको अभिलेख किताबसहितको सक्कल प्रति सम्बन्धित कार्यालयबाट झिकाउनू’ आदेशमा लेखिएको छ ।
योसँगै नागकिरताको प्रमाणपत्र बनाउँदा भरेको अनसूची फारमसहितको प्रतिलिपिसमेत झिकाउन आदेश दिएको छ।
एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध अनुसन्धान सकिएपछि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले सोमबार अदालतमा मुद्दा दायर गरेको थियो। मंगलबार सन्दीपले अदालतमा बयान दिएका थिए भने बुधबारदेखि थुनछेक बहस सुरु भएको थियो।
बहस सकिएपछि उनलाई शुक्रबार पुर्पक्षका लागि कारागार पठाइएको हो।
सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, ०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ। जसमा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।
पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरको नगरकोटसमेत पु¥याएको र फेरि फर्काएर काठमाडौं ल्याई एक होटलमा राखेर बलात्कार गरेको दाबी गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।