काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्नका लागि मात्रै आफूले गोरखा नरोजेको स्पष्ट पारेका छन्।
शुक्रबार आफ्नो क्षेत्र गोरखा २ को ठूलो आगनमा भएको चुनावी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गोरखा ऐतिहासिक पृष्ठभूमि भएको जिल्ला भएको बताए। राणा शासन अन्त्य गर्नेदेखि जनयुद्ध र जनआन्दोलनसम्ममा जोडिएको जिल्ला गोरखा रहेकाले उनले यसैकारण यो क्षेत्र रोजेको बताए।
‘गोरखा राणाशाहीविरुद्धको जिल्ला पनि हो। त्यसको ऐतिहासिक पृष्ठभूमि छ। नेपालको जनयुद्ध र जनआन्दोलनको अग्रणी जिल्ला पनि हो। राजनीतिका लागि सबैभन्दा बढी समय गोरखामै बिताएको छु,’ उनले भने, ‘पञ्चायतविरोधी आन्दोलनमा गोरखामै हेडक्वाटर राखेर गरियो। जनक्रान्तिको सम्पूर्ण तयारी पनि गोरखाबाटै गरेको हुनाले म यसबाट उम्मेदवार बनेको हुँ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले जनताले झण्डै दुई–तिहाई मत दिएको पार्टीले संविधान र लोकतन्त्रमाथि हमला गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आरोप लगाए।
उनले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति केन्द्रमा मात्र नभई सातवटै प्रदेशमा गठबन्धन भएको उल्लेख गरे। साथै, उनले गठबन्धन सरकारकै नेतृत्वमा स्थानीय निर्वाचन सम्पन्न गरेको पनि सम्झिए।
अध्यक्ष प्रचण्डले अहिलेको निर्वाचन दुई प्रवृत्तिबीचको लडाइ भएको दाबी गरे। उनले कुन गठबन्धनलाई विजयी गराउने हो भन्ने बारेमा सोच्न मतदातालाई अपिल गरे। उनले अहिलेको अहिलेको गठबन्धन विस्तृत शान्ति सम्झौता १२ बुँदे सम्झदारीकै निरन्तरता भएको बताए।
उनले ओलीप्रति लक्षित गर्दै यो संविधानमाथि घात गर्ने, प्रतिनिधि सभालाई विघटन गर्न चाहने, राजतन्त्रको पक्षमा वकालत गर्ने, परिवर्तन उल्टाउने प्रवृत्तिबीच गठबन्धन भएको आरोप लगाए। एमालेले राप्रपा र राप्रपा नेपालसँग गठबन्धन गरेकोप्रति उनको भनाइ लक्षित थियो।
अध्यक्ष प्रचण्डले लोकतन्त्र, शान्ति र समृद्धिका पक्षमा मतदान गर्न अपिल गरे। ‘राजनीति स्थायित्व र एकताको लागि, शान्ति र समृद्धिका लागि एक नम्बर र दुई नम्बर क्षेत्रको पूरै टिमलाई विजयी गराउन अपिल गर्छु,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।