काठमाडौं– डा तोसिमा कार्कीको उम्मेदवारी कायम हुने भनी सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश खारेजीको माग गर्दै निर्वाचन आयोगले सर्वोच्चमा भ्याकेटको निवेदन दिएको छ।
निवेदनमा निर्वाचन आयोगले यसअघि जारी भएको अन्तरिम आदेश बदर गर्दै यसअघि आयोगबाट खारेज गर्ने निर्णय सदर हुनुपर्ने जिकिर गरिएको छ।
सर्वोच्चका प्रवक्ता विमल पौडेलले निर्वाचन आयोगबाट भ्याकेटको निवेदन आएको तर ढिलो आएकाले शुक्रबार दर्ता गर्न नभ्याएकाले आइतबारमात्र दर्ता हुने बताए। आइतबार दर्ता भएमा उक्त निवेदनको सोमबारमात्र पेशी चढ्ने छ।
कात्तिक १५ गते सर्वोच्चले तोसिमाको उम्मेदवारी खारेजी गर्ने निर्णय मुद्दाको किनारा नलगेसम्म कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो। न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेश जारी गरेको थियो।
सर्वोच्चको उक्त आदेशपछि तोसिमाको उम्मेदबारी कायम भएको थियो। उनी ललितपुर ललितपुर क्षेत्र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार भएकी थिइन्। उक्त क्षेत्रमा गठवन्धनका तर्फबाट माओवादी केन्द्रकी पम्फा भुसाल उम्मेदवार रहेकी छिन्। निर्वाचन आयोगको अन्तरिम आदेशपछि तोसिमा प्रचारप्रसारमा व्यस्त छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।