काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई भावी प्रधानमन्त्रीको रुपमा भोट मागेका छन्।
शुक्रबार निर्वाचन क्षेत्र गोर्खामा चुनावी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरुलाई अत्यधिक मत ल्याएर विजयी गराउन अनुरोध गरे।
उनले नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र पाण्डे मुख्यमन्त्रीको दाबेदार रहेकोसमेत बताए।
‘तपाईं एउटा सांसदलाई मात्रै मतदान गर्दै हुनुहुन्नँ। गण्डकी प्रदेशको एउटा मुख्यमन्त्रीलाई मतदान गर्दै हुनुहुन्छ। यो सबैका निम्ति खुसीको कुरा हो। यो सम्भावना प्रचुर छ। शेरबहादुर देउवाजी र मेरोबीचमा एउटा अन्डरस्ट्याण्डिङ छँदैछ,’ प्रचण्डले भने, गोर्खाबाट मतदान गर्दा मन्त्री, मुख्यमन्त्रीलाई मतदान गर्दै हुनुहुन्छ। समानुपातिक पनि मन्त्रीहरूकै सम्भावना बोकेका हुनुहुन्छ यहाँ। उस्तै पर्यो भने यहाँ तपाईंहरू प्रधानमन्त्री पाउन पनि बेर लगाउनुहुन्न।’
उनले यस्तो अवसर सधैं नजुट्ने बताउँदै गोरखाका निम्ति अवसर रहेको भएको आश्वासन दिए।
प्रचण्डले मतदाताहरूको विश्वास जितेर नयाँ नेपालको सुरुवात गर्नेसमेत दाबी गरे। उनले गोरखामा गुठीका समस्या समाधान, पर्यटन विकास, शिक्षा, स्वास्थ्य आदि क्षेत्रको विकासका निम्ति आफूले जित्नुपर्ने दाबी गरे। उनले गोरखाबाट नयाँ कामको थालनी गर्ने प्रतिबद्धतासमेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।