काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम सकिएको छ।
निर्वाचन आयोगले प्रत्येक मतदाताले प्रत्यक्ष निर्वाचन प्रणाली (पहिलो हुने निर्वाचित)का लागि चार करोड तथा समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड गरी करिब ८ करोड मतपत्र छपाइ गरिएको छ।
आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतपत्र ढुवानी सम्पन्न गरिसकेको छ। हाल प्रत्यक्ष अन्तर्गतका मतपत्रहरू प्रत्येक निर्वाचन क्षेत्रका लागि धमाधम मतपत्र ढुवानी गरिरहेको छ। यसअन्तर्गत शुक्रबार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लाको मतपत्र ढुवानी गरिएको छ।
गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मतपत्र यसअघि नै ढुवानी भइसकेको छ।
शुक्रबार निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले मतपत्र छपाइ कार्यबारे स्थलगत जानकारी लिएका छन्। आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरेको थियो। यसपटक मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगी कायम हुने मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको निर्वाचन आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।