खलंगा– नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टी अध्यक्ष केपी शर्मा ओली नेता मात्र नभइ राज नेता भएको बताएका छन्।
शुक्रबार दार्चुलामा आयोजित पार्टीको पहिलो चुनावी आमसभालाई सम्बोधन गर्दै इन्चार्ज भट्टले केपी ओलीकै कारण नेपालको लिम्पियाधुरा, लिपुलेक सहितको गुमेको भूमिको नक्सा जारी भएको दाबी गरे।
उनले भने,‘नेपालमा धेरै प्रधानमन्त्री भए। लिपुलेक र लिम्पीयाधुरा नेपालको हो भन्ने आँट केपी ओली बाहेक कसैले गरेनन्। केपी ओली नेता हैन, राजनेता हो। उहाँले समग्र जीवन नेपाल र नेपालीमा लगाउनु भएको छ। ’
उनले नेकपा एमालेले आगामी निर्वाचनमा ब्यालेटका माध्यमबाट राज्य सत्ता कब्जा गर्ने बताए। राष्ट्रियता, लोकतन्त्रको रक्षाको निम्ती एमालेले जित्न जरुरी भएको भट्टले उल्लेख गरे।
उनले गठबन्धनका दलहरु आफ्नो बलबुतामा निर्वाचन लड्न नसेको बताए। उनले दार्चुलाबाट एमालेको विजयी सुरुवात भएको दाबी समेत गरेका छन्।
एमालेले २०७२ सालको संविधानलाई कार्यान्वयन गरेको दाबी गर्दै गठबन्धन दलहरुले प्रतिगमन भनेको भन्दै विरोध गरे। उनले गठबन्धन दलका गगन थापा, शेर बहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले आफूलाई भावि प्रधानमन्त्री भन्ने गरेको भए पनि नेकपा एमालेको भावि प्रधानमन्त्री केपी ओली नै भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।