काठमाडौं– मधेस प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले चुनावी प्रचारमा पनि सरकारी सवारीसाधनको प्रयोग गरेको भन्ने विषयमा जवाफ माग गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश सभाको सचिवालयलाई पत्र लेख्दै आयोगले जवाफ माग गरेको छ।
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरुले पनि सरकारी सवारी साधन नबुझाइ निजी नम्बरप्लेट राखेर चुनाव प्रचारमा प्रयोग गरेको विषय सार्वजनिक भएको थियो। त्यविषयमा निर्वाचन आयोगमा उजुरी समेत परेको थियो।
‘सो सम्बन्धमा के कसो भएको हो ? प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री तथा सरकारी पदाधिकारीहरुलाई सरकारी सुविधा स्वरुप तहाँबाट उपलब्ध गराइएका सवारी साधनहरूको विवरण (सवारी साधनको किसिम, सवारी साधनको नम्बर र कस्तो नम्बर प्लेट प्रयोग गरिएको छ ), उल्लेखित पदाधिकारीहरूलाई सरकारी सुविधास्वरुप तहाँबाट उपलब्ध गराइएका सवारी साधनहरु नियमानुसार फिर्ता गर्नुपर्नेमा सो सवारी साधनहरू फिर्ता गरी दाखिला भए नभएको यकिन विवरण समेत यो पत्र प्राप्त भएको दुई दिनभित्र पछिसम्म फरक नपर्ने गरी आयोगलाई उपलब्ध गराउनुहुन निर्णयानुसार अनुरोध गरिन्छ,’ आयोगको पत्रमा भनिएको छ।
यसैगरी आयोगले सो सम्बन्धमा प्रदेश सभाका सभामुख, उपसभामुख र विभिन्न समितिका सभापतिलाई सरकारी सुविधास्वरुप उपलब्ध गराइएका सवारी साधनहरुको विवरण दुई दिनभित्र उपलब्ध गराउन पनि भनेको छ।
आयोगले धनुषाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाइ प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेश सभाका विभिन्न समितिका सभापति समेतले सरकारी नम्बरप्लेट परिवर्तन गरी प्रयोग गरेको पाइएमा कारबाही गर्न निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।