काठमाडौं– प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका क्रममा स्थानीय तहका जनप्रतिनिधिले आफू बहाल रहेको बाहेकका पालिकमा गएर आफ्नो पार्टी र उम्मेदवारको प्रचारप्रसार गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।
आयोगले बिहीबार निर्वाचन ई–बुलेटिनमार्फत उक्त कुराको जानकारी दिएको हो।
‘निर्वाचन आचारसंहिता बमोजिम स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्नेछन्,’ आयोगले उल्लेख गरेको छ।
यस्तै, निर्वाचन आयोगले नेपाल सरकारका प्रधानमन्त्री, मन्त्रीहरूले निर्वाचन आयोगको सहमति लिई त्यसरी सहमति लिएको स्थानमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन र प्रदेश सरकारका मन्त्रीले प्रदेश निर्वाचन कार्यालयमार्फत वा सोझै आयोगको सहमति लिई त्यसरी सहमति लिएको सम्बन्धित प्रदेशभित्रको स्थानमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्ने व्यवस्था रहेको स्पष्ट पारेको छ।
‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (क)ले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले निर्वाचन प्रचार प्रसारका क्रममा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ।
संशोधित आचारसंहिताबमोजिम निर्वाचनमा आफैँ उम्मेदवार भएका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा निर्वाचन प्रचारप्रसारमा संलग्न हुन सक्नेछन्। त्यसरी प्रचारप्रसार गर्दा सरकारी साधन स्रोतको प्रयोग गर्न भने आचारसंहिताले रोक लगाइएको छ,’ आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।