काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि चार वटा प्रदेशको सम्पूर्ण मतपत्र ढुवानी सम्पन्न भइसकेको बताएको छ। यस्तै, शुक्रबारसम्ममा सम्पूर्ण मतपत्र छपाइ सकिने आयोगले बताएको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र ढुवानी सम्पन्न भएको आयोगले बताएको छ। मनाङ र मुस्ताङ जिल्लाका लागि आवश्यक मतपत्र हेलिकोप्टरमार्फत बिहीबार ढुवानी भएसँगै चार वटा प्रदेशको मतपत्र ढुवानी सम्पन्न भएको आयोगले जनाएको छ।
बाँकी रहेको प्रदेश १ को मतपत्र ढुवानी शुक्रबारबाट सुरु हुने आयोगले बताएको छ। प्रदेश १ को समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र भने यसअघि नै ढुवानी सम्पन्न भइसकेको छ।
प्रतिनिधि सभा तथा प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणालीका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताका लागि करिब ८ करोड मतपत्रको छपाइ हुनेछ। जसमध्ये अब २५ लाख ९४ हजार मतपत्र मात्र छपाइ हुन बाँकी रहेको आयोगले बताएको छ।
शुक्रबारसम्म सबै मतपत्र छपाइ सम्पन्न हुने र कात्तिक २५ गतेसम्ममा प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुग्ने आयोगले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।