काठमाडौं- नेपाली कांग्रेसका नेता एवं काठमाडौं- ५ का उम्मेदवार प्रदीप पौडेलले संसदमा आफूले जनताको आवाज निर्भीक भएर उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बिहीबार काठमाडौं- ५ अन्तर्गत ५ नम्बर वडा कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले भने, ‘संसदमा निर्भीक भएर बोल्ने मान्छेको खाँचो छ। म तपाईँका समस्याहरु संसदमा उठाउनेछु।’
आफ्नो निर्वाचन क्षेत्र काठमाडौं- ५ को समग्र विकासको खाकाबारे बताउँदै उनले सो क्षेत्रले समग्र देशको प्रतिनिधित्व गर्ने समेत बताए।
‘काठमाडौं- ५ हेरेपछि सबै देश देखिन्छ,’ उनले भने, ‘यहाँ भएका मुख्य प्रशासनिक भवनदेखि कलाकौशलका कारण पनि सो क्षेत्रले समग्र देशको प्रतिनिधित्व हुन्छ।’
काठमाडौंमा रहेका विद्यालयहरुलाई बुढानीलकण्ठस्तरको बनाइने प्रतिबद्धता समेत उनले व्यक्त गरे। राज्यबाट स्रोत नपाएमा आन्तरिक स्रोत साधनको परिचालन गरेर भए पनि सबै शिक्षालयहरुको गुणस्तर बढाउनेमा पौडेलको जोड थियो।
बौद्धिक वर्ग पलायन गरी अन्य सामग्री आयात भइरहेकोबारे टिप्पणी गर्दै उनले भने, ‘ब्रेन ड्रेनको समस्या छ। एउटा देश जो वौद्धिक नागरिकलाई जोगाएर राख्न सक्दैन भने त्यो देशको विकास कताबाट हुन्छ? सबै कुरा आयात गरेर मात्रै देश समृद्ध हुन सक्दैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।