काठमाडौं– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक गरेको वाचा–पत्रमा विभिन्न पार्टीप्रतिको धारणा सार्वजनिक गरेको छ। त्यसक्रममा उसले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनप्रति कटाक्ष गरेको छ।
’राप्रपाका अध्यक्ष जो अन्य पार्टीहरुका नेतालाई सार्वजनिक रुपमा चोर करार गर्थे, उनै अध्यक्ष चुनाव जित्नका लागि तिनै नेतासँग तालमेल गर्न पुगेका छन्। त्यस्तै, आफ्नो पार्टीले खारेज नै गर्ने भनेको प्रदेश सभामा सबैभन्दा बढी उम्मेदवार उठाउने पार्टी बनेको छ,’ वाचा–पत्रमा भनिएको छ।
राप्रपा अध्यक्ष लिङ्देनले कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा नेताहरूलाई गाउँघरमा ’चोर आयो’ भन्ने गरेको बताएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीले राप्रपामा अवसरवादी र सम्झौतापरस्त चिन्तन हाबी भएको बताएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई एउटै बुँदामा राखेर मूल्यांकन गरेको छ।
’फरकफरक सिद्धान्त र वादहरू पछ्याउने भनिए पनि व्यवहारतः कुनै पनि दल अर्को दलभन्दा फरक देखिँदैन’, वाचा–पत्रमा भनिएको छ।
पार्टीभित्र लोकतन्त्रमाथि कुठाराघात हुँदा यी पार्टीभित्रका अब्बल र जान्नेहरूलाई सधैँ अवसरबाट बञ्चित गराएर पाखा लगाइएको राष्ट्रिय स्वतन्त्र पार्टीको बुझाइ छ।
मधेशकेन्द्रित दलहरू सत्ताकेन्द्रित भएको र मिल्न र फुट्न यिनीहरुलाई गाह्रो नलाग्ने भन्दै कटाक्ष गरिएको छ। ’सत्ता स्वार्थका लागि जोसँग पनि मिल्ने यिनीहरूको प्रवृत्तिकै कारण तराईका वास्तविक समस्या राष्ट्रिय राजनीतिको मूलधारमा आउनै सकेको छैन,’ वाचा–पत्रमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।