काठमाडौं– नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले कुनै अमुक नेतालाई जिताउनका लागि गठबन्धन नभएको बताएका छन्। राष्ट्र हितलाई केन्द्रमा राखेर राष्ट्रको स्वाभिमान उच्च राख्न, संविधानको रक्षा गर्न र विकासको गति बढाउनको लागि गठबन्धन गरिएको केसीको भनाइ छ।
नुवाकोट क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका केसीले चुनाव लड्ने उम्मेदवारहरुले आफू सक्षम रहेको र आफ्नो अजेन्डा राम्रो छ भन्नु स्वभाविक भएपनि जनताले मूल्यङ्कन गरेर मतदान गर्ने बताए।
‘चुनाव लड्ने उम्मेदवारहरुले आफू सक्षम रहेको र आफ्नो अजेन्डा राम्रो छ भन्नु स्वभाविक नै हो। तर जसले हिजोको इतिहास र भोलिको भविष्यलाई बोक्न सक्छ त्यसैलाई जनताले मंसिर ४ मा मतदानमार्फत् आफ्नो प्रतिनिधि रोज्ने हो,’ केसीले भने।
सत्ता गठबन्धनका नेताहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल वा अन्य अमुक व्यक्तिलाई गठबन्धन भएको उनको भनाइ छ।
‘लोकतान्त्रिक वाम गठबन्धन कुनै व्यक्ति जित्न होईन, राष्ट्रिय हितलाई केन्द्रमा राखेर राष्ट्रको स्वाभिमान उच्च राख्न, संविधानको रक्षा गर्न, विकासको गति बढाउनको लागि गठबन्धन गरिएको हो,’ केसीले भने।
नुवाकोटको बिदुर नगरपालिकाअन्तर्गतको ऐतिहासिक स्थल नुवाकोट दरबार परिसरमा चुनावी कार्यक्रम तथा भेटघाट कार्यक्रममा बोल्दै नेता केसीले विरोधीको विचार सुरक्षित गर्न लोकतन्त्र बचाउन गठबन्धन आवश्यक रहेको बताए।
‘विरोधीको विचार सुरक्षित गर्न समेत लोकतन्त्र बचाउन यो गठबन्धन आबश्यक रहेको छ,’ केसीले भने, ‘कुनै पनि उम्मेदवारले व्यक्तिगत आलोचना र विरोध गरेर समय खेर फाल्न हुँदैन। बरु जनताको अगाडि आफ्नो स्पष्ट योजना लिएर अगाडि बढ्नु पर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।