धनगढी– नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबारदेखि आफनो निर्वाचन क्षेत्रमा खटिने भएका छन्। गृहजिल्ला डडेलधुराका चुनावी कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा बुधबार नै गृहप्रदेश सुदूरपश्चिम पुग्ने बताइएको छ।
प्रधानमन्त्री देउवा बुधबार बेलुका धनगढी पुग्ने कार्यक्रम रहेको नेपाली कांग्रेस कैलालीले जनाएको छ। ‘प्रधानमन्त्रीको बुधबार बेलुकी धनगढी पुग्नुहुन्छ,’ कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले भने, ‘धनगढीमा उहाँको विशेष कार्यक्रम केही छैन। बिहीबार डडेलधुरा जानुहुनेछ।’
आसन्न निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरू मतदाता भेटघाटमा व्यस्त भएपनि देउवा भने अहिलेसम्म आफ्नो क्षेत्रमा पुगेका छैनन्। यसले गर्दा उनीमाथि उम्मेदवार भएपनि आफनो निर्वाचन क्षेत्रलाई ‘वास्ता नगरेको’ आरोप लाग्दै आएको छ।
हरेक निर्वाचनमा स्थानीय कांग्रेस कार्यकर्ताबाट मनोनयन दर्ता गराउने देउवाले यसपटक श्रीमती आरजु राणा देउवामार्फत् उम्मेदवारी दर्ता गराएका थिए। देउवाको सन्देश लिएर मनोनयन दर्ता गर्न डडेलधुरा आइपुगेकी आरजु एकसाता चुनावी गतिविधिमा संलग्न भएर काठमाडौं फर्किएकी थिइन्। डडेलधुरामा कांग्रेसको निर्वाचन परिचालन समितिका संयोजक भीमबहादुर साउदको नेतृत्वमा देउवाको चुनावी प्रचार भइरहेको छ।
देउवा एक साताअघि सत्ता गठबन्धनको संयुक्त प्रशिक्षण भेलामा सहभागी हुन धनगढी आइपुगेका थिए। तर, उनी आफनो निर्वाचन क्षेत्र नपुगी फर्केका थिए। स्थानीय तहको निर्वाचनपछि देउवा एक साताअघि मात्र सुदूरपश्चिम पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।