धनगढी– नेपाली कांग्रेस कैलालीले क्षेत्र नम्बर ५ का २१ वटै वडामा क्षेत्रीय प्रतिनिधिहरूलाई चुनावी प्रचार–प्रसारमा परिचालन गरेको छ ।
मंगलबार धनगढीस्थित ओम प्यालेसमा क्षेबीय प्रतिनिधिहरूको भेला गर्दै उनीहरूलाई प्रचारप्रसारका २१ वटै वडाको जिम्मेवारी दिइएको हो।
एक क्षेत्रीय प्रतिनिधिले २० वटा घरको जिम्मा लिई प्रत्यक्षतर्फ गठबन्धन दलका साझा उम्मेदवारका लागि मत माग्नुपर्ने जिम्मेवारी रहेको छ। क्षेत्रीय प्रतिनिधिहरूले टोलमा रहेका २० जना क्रियाशीलको भेला गराइ प्रचारप्रसारमा खटिनुपर्ने कांग्रेस कैलालीका सचिव एवं कैलाली क्षेत्र नम्बर ५ का निर्वाचन परिचालन समितिका संयोजक नृपबहादुर सुनारले जानकारी दिए।
क्षेत्रीय प्रतिनिधिहरूले मत माग्नुका साथै मतदानका लागि अभिप्रेरित गर्ने, मत दिने वातावरण तयार गर्ने, पार्टीमा रहेका असन्तुष्ट नेता कार्यकर्तालाई सम्झाउने, बुझाउने प्रयास गर्ने नसकेमा माथिल्लो निकायमा जानकारी दिने, आफनो टोलको मत विश्लेषण गरी गठबन्धनका उम्मेदवार र अन्य उम्मेदवारले प्राप्त गर्ने मतको संख्या कार्तिक २८ गतेभित्र नगर÷प्रदेश÷क्षेत्र स्तरिय निर्वाचन परिचालन समितिलाई जानकारी गराउने जिम्मेवारी रहेका सुनारले जानकारी दिए।
क्षेत्रीय प्रतिनिधि भेलामा कांग्रेसकी केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट प्रमुख अतिथि रहेकी थिइन् । भेलामा उनले कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सबै एक्तावद्ध भएर लाग्नुपर्ने बताइन्।
उनले भनिन्, ‘यो निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सबै एकजुट हुनुपर्छ। पार्टीका आन्तरिक तिक्ततालाई भुल्दै सबै गठबन्धन दललाई विजयी गराउन लागौं।’
भेलामा कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा उम्मेदवार डिल्लीराज पन्त, प्रदेश सभा १ का उम्मेदवार रमेश धामी, प्रदेश सभा २ का उम्मेदवार प्रकाश देउवाले आ–आफ्नो धारणा राखेका थिए।
भेलाको उद्देश्य तथा क्षेत्रीय प्रतिनिधिहरूले गर्नुपर्ने जिम्मेवारी लगायतका बारेमा जिल्ला सचिव एवं संयोजक सुनारले जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।