काठमाडौं- नेकपा माओवादी केन्द्रले संघ, प्रदेश र स्थानीय तहको चुनावको मिति, कार्यकालको प्रारम्भ र अन्त्य संविधानमा नै तोक्ने प्रतिबद्धता व्यक्त गरेको छ।
सोमबार जारी चुनावी प्रतिबद्धतापत्रमा उसले मिति घोषणा गर्दा निर्वाचनमा उमेदवारी दर्तादेखि सबै तहको सरकार काम चलाउ हुने तर खालि नहुने व्यवस्था गरिने उल्लेख गरेको छ ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको अजेन्डालाई उसले निरन्तरता दिएको छ। राष्ट्रपति र प्रदेश प्रमुखको निर्वाचन देश र सम्बन्धित प्रदेशलाई एक निर्वाचन क्षेत्र मानी बालिग मताधिकारको आधारमा प्रत्यक्ष निर्वाचन पद्धतिबाट हुने व्यवस्था गरिने छु, प्रतिबद्धतापत्रमा भनिएको छ।
प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन जातीय जनसंख्या वा क्लस्टरको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत गरिने उसको अजेन्डा छ। क्लस्टरमा खसआर्य, आदिवासी जनजाति, दलित, मधेसी–तराई समुदाय, थारु, मुस्लिम रहनेछन् र सम्बन्धित क्लस्टरमा ३५ प्रतिशत महिला प्रतिनिधित्व हुने उसको प्रतिबद्धता छ।
मजदुर र किसानलाई कम्तीमा १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिने छु, प्रतिबद्धतामा भनिएको छ। राष्ट्रियसभालाई सबै प्रदेश, उत्पीडित समुदाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान गरेका व्यक्तिहरुको समेतको प्रतिनिधित्व हुने गरी परिवर्तन गरिने माओवादी केन्द्रको अजेन्डा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।