काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले ०४७ साल यताका सबै मन्त्री र विशिष्ट श्रेणीका कर्मचारीको सम्पत्ति छानबिन गर्ने बताएको छ। आगामी निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उसले यस्तो बताएको हो।
’०४७ को परिवर्तन यताका सबै सरकारका प्रधानमन्त्री एवम् मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख एवम् सदस्यहरू, सबै राष्ट्रिय राजनीतिक दलका केन्द्रीय पदाधिकारीहरू र विशिष्ट श्रेणीका कर्मचारीहरूको सम्पत्ति छनबिन गर्न एक उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गरिने छ,’ प्रतिबद्धतापत्रमा भनिएको छ।
संविधान, कानुन र नियमअनुसार सहज रूपमा हुनुपर्ने जनसाधारणका कामहरूमा घुस दिनुपर्ने वा भनसुन गर्नुपर्ने आवश्यकताको अन्त्य गर्न प्रभावकारी कदम चालिने माओवादीले बताएको छ।
आफ्नो पार्टीका सबै केन्द्रीय समितिका सदस्य एवम् प्रदेश समितिका पदाधिकारीहरूको सम्पत्ति विवरण निर्वाचन सम्पन्न भएको ६ महिनाभित्र सार्वजनिक गर्ने प्रतिबद्धता पनि उसले जनाएको छ।
साथै, प्रत्येक आर्थिक वर्षको पहिलो तीन महिनाभित्रमा केन्द्रीय समितिका सदस्यहरू र प्रदेश पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।