काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूसुरक्षित वा असुरक्षा हेरेर गोरखा नगएको बताएका छन्।
काठमाडौंमा सोमबार पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै उनले आफू सबै क्षेत्रको भावनालाई समेट्न अहिले गोरखा पुगेको दाबी गरे।
उनले हिजो जनयुद्ध शुरु हुने घोषणा गरेको गोरखाबाट अब आर्थिक समृद्धिको घोषणा गर्ने बताए।
०७४ सालमा वाम गठवन्धन गरेर जाँदा पनि घोषणापत्र तयार गर्नेमा माओवादी केन्द्रको भूमिका रहेको प्रचण्डले दाबी गरे। उनले घोषणापत्र बनाउनेमा आफ्नो महत्वपूर्ण रहेको भएपनि सरकार चलाउनेमा भूमिका नभएको गुनासो गरे।
उनले एकाधिकारवादी शैलीमा सरकार चलेपछि घोषणालाई कार्यान्वयनमा लैजान नसकेको उनको भनाइ थियो।
विगतमा गरेका कमजोरीलाई इमान्दारीताका साथ आत्माआलोचना गरेको उनले दाबी गरे। उनले विगतमा भएका यस्ता गल्ती–कमजोरी अब नदोहोरिने स्पष्ट पारे।
अब माओवादी ०७४ को भन्दा फरक अर्थात अब कार्यान्वयनको ठाउँमा हुने प्रचण्डले दाबी गरे । उनले कहाँ सुरक्षित र कहाँ असुरक्षित भनेर आफू चुनाव लड्न नभएको स्पष्ट पारे।
‘रोल्पामा जनयुद्धको भावनाका लागि लडेकाले त्यहाँ केही उद्देश्य बोकेर गएको थिएँ। मधेश, पहाड र हिमाल एकताका लागि र राष्ट्रिय एकताका लागि गएको हुँ। र, मेरो गृहजिल्ला चितवन भएकाले त्यहाँ पनि एकपटक जानैपर्ने भएकाले गएको हुँ,’ उनले भने।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले गोरखा ऐतिहासिक जिल्ला भएकाले सबैको आग्रहपछि आफू चुनाव लड्न त्यहाँ गएको बताए।
‘सुरक्षा वा असुरक्षा हेरेर म गोरखा गएको होइन। अब गोरखावाट आर्थिक समृद्धिको अभियान शुरु हुन्छ,’ उनले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।