काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले आफ्नो चुनावी प्रतिबद्धतामा पहिचान, सामर्थ्य र क्षेत्रीय स्वायत्तताको संयोजन हुने र सबै जाति, वर्ग, क्षेत्र, लिंग, मजदुर, किसानको अपनत्व अनुभूति हुनेगरी संघीयतालाई सुदृढ गर्ने नीति प्रस्तुत गरेको छ। सोमबार जारी घोषणापत्रमा उसले बलियो संघ, प्रदेश र स्थानीय सरकार, संघीयताको कार्यान्वयनको आधार भन्ने नारा उल्लेख गरेको छ।
’प्रदेशको एकल तथा साझा अधिकारको सूचीदरा प्रदान गरिएका अधिकारहरूको कार्यान्वयनका लागि कानुन बनाएर साथै प्रदेशलाई स्रोतसाधन सम्पन्न बनाएर संघीयतालाई प्रभावकारी बनाइनेछ। प्रमुखरुपमा संघलाई नीति निर्माणमा, प्रदेशलाई विकास निर्माणमा र स्थानीय तहलाई सेवा प्रवाहमा केन्द्रित गर्ने व्यवस्था गरिने छ’, प्रतिबद्धतापत्रमा भनिएको छ।
संघ, प्रदेश र स्थानीय तहको अधिकार र कार्यक्षेत्रमा देखिएको अस्पष्टता, विवाद, दोहोरोपना, बाझिने, अतिक्रमण हुने व्यवस्था सच्याइ अधिकार सूची आवश्यकताअनुसार परिमार्जन गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।
’ऐतिहासिक पहिचान र सामथ्र्यका आधारमा प्रदेश र स्थानीय तहको सीमा मिलान तथा पुनर्गठन, अधिकार सूचीको परिमार्जन तथा विशेष, स्वायत्त र संरक्षित क्षेत्रको सीमांकन गर्न उच्चस्तरीय राज्यपुनर्संरचना सुझाव राष्ट्रिय आयोग गठन गरी सुझाव कार्यान्वयन गरिने छ’, प्रतिबद्धतापत्रमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।