काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ। करिब आठ करोड आवश्यक पर्नेमा सोमबारसम्म करिब सात करोड मतपत्र छपाइ भइसकेको छ ।
मंसिर ३ सम्म कायम हुने मतदाताको संख्याका आधारमा यसपटक समानुपातिकतर्फ करिब चार करोड तथा पहिलो भएर निर्वाचित हुने प्रणालीतर्फ करिब चार करोड मतपत्र आवश्यक पर्नेछ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भइसकेको छ।
यस्तै, सोमबारसम्म पहिलो हुने निर्वाचित प्रणालीतर्फ दुई करोड ८६ लाख ८८ हजार ५०० मतपत्र छपाइ भएको छ। अब करिब एक करोड १४ लाख मतपत्रमात्र छाप्न बाँ रहेको आयोगले जनाएको छ।
छपाइ भएका पहिलो हुने निर्वाचित प्रणालीतर्फको मतपत्र मध्ये एक करोड २९ लाख ५३ हजार ५०० प्रदेश सभा तथा एक करोड ४६ लाख ३५ हजार प्रतिनिधि सभाका मतपत्र रहेका छन्। जसमा प्रतिनिधि सभाका लागि ५० र प्रदेश सभातर्फ ४६ जिल्लाको मतपत्र समावेश छन् ।
धमाधम ढुवानी
निर्वाचन आयोगले छपाइसँगसँगै ढुवानी पनि गरिरहेको छ। मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा समानुपातिक निर्वाचन प्रणालीततर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ भने पहिलो भएर निर्वाचित हुने प्रणालीतर्फ हालसम्म ७८ लाख ६५ हजार मतपत्र ढुवानी सम्पन्न भएको छ। जसमा प्रतिनिधि सभाको मतपत्र ३९ लाख १९ हजार र प्रदेश सभाको मतपत्र ३९ लाख ४३ लाख रहेका छन्।
पहिलो भएर निर्वाचित हुने प्रणालीअन्तर्गत सोमबारसम्म १६ वटा जिल्लाका मतपत्र ढुवानी भएको छ। ढुवानी भएका जिल्लाहरूमा कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी, दार्चुला, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बाँके, बर्दिया, जाजरकोट, कालिकोट, दैलेख र सुर्खेत रहेका छन् । हुम्ला, जुम्ला, डोल्पा, मुगु र बाजुरा जिल्लाका लागि सुर्खेतमा मतपत्र ढुवानी भएको छ। यी जिल्लामा सुर्खेतबाट हेलिकोप्टरमार्फत मतपत्र ढुवानी गरिने छ।
आयोगले पहिलो भएर निर्वाचित हुने प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित मतपत्र प्रयोग गर्ने भएकाले यो पटक निर्वाचन क्षेत्रअनुसार फरक–फरक मतपत्र प्रयोग हुनेछ ।
त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधि सभाका लागि देशैभर एउटै मतपत्र प्रयोग हुनेछ । प्रदेश सभाका लागि भने प्रदेशमा कायम रहेका दलको संख्या अनुसार फरक–फरक मतपत्र प्रयोग हुनेछ ।
आयोगले ढुवानी भएका जिल्लाहरूमा अस्थायी मतदाताका लागि प्रयोग हुने मपतत्रसमेत पठाएको छ। अस्थायी मतदाताको सूचीमा कर्मचारी, सुरक्षाकर्मी, कैदी, वृद्धाश्रमका व्यक्तिलगायतलाई समेटिएको छ। उनीहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभाका लागि मात मतदान गर्न पाउने छन्। आयोगले १६ गतेसम्ममा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा मतपत्र ढुवानी गरिसकिने आयोगको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।