काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्ता केन्द्रित राजनीति नगर्ने नीति लिएको छ। काठमाडौंमा सोमबार आफ्नो घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने बताएको छ।
‘विगतको सत्ता केन्द्रित राजनीतिका कारण प्राप्त तितो अनुभववाट शिक्षा लिंदै राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्ता केन्द्रित राजनीति गर्ने छैन,’ घोषणापत्रमा भनिएको छ, ‘राप्रपा सत्ताभन्दा सिद्धान्तमा विश्वास गर्छ। आगामी दिनमा राप्रपाको प्राथमिकता मुद्दाहरुको स्थापना गर्न केन्द्रित हुनेछ।’
आगामी संसदमा जनताको चाहना र अभिमतलाई आफ्नो मुल आधार मानेर आफ्नो भूमिका निर्धारण गर्ने घोषणापत्रमा उल्लेख छ। हिन्दु धर्म र राजाको अजेण्डा बोकेर हिँडेको राप्रपाले मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभाबाट प्राप्त मतपछि आफूहरुले सरकारमा जाने कुरा प्राथमिकता नदिने उल्लेख गरेको हो।
विगतमा राप्रपा सरकारमा जानका लागि पटकपटक विभाजन भएको थियो। तत्कालीन समयमा चन्द राप्रपा र थापा राप्रपा विभाजन हुँदै एकपछि अर्को सरकारमा गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।