काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। सोमबार सार्वजनिक प्रतिबद्धतापत्रमा अभिभावकीय संस्थाको रुपमा राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक संसद् प्रस्तुत गरिएको छ।
राप्रपाले प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचना प्रस्तुत गरेको छ। एक व्यक्तिले दुई कार्यकालभन्दा धेरै पार्टी अध्यक्ष, प्रधानमन्त्री जस्तो कार्यकारी पदमा बस्न नपाउने उसको अजेन्डा छ।
राप्रपाले सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दू राष्ट्रको अजेन्डालाई निरन्तरता दिएको छ।
'उच्चस्तरिय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्माचारीहरुको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था' प्रतिबद्धतापत्रमा भनिएको छ।
राप्रपाले नीतिगत तथा कार्यगत क्षेत्रमा देखिएका भ्रष्टाचार तथा अनाचार अन्त्य गर्न स्वार्थको द्वन्द्व सम्बन्धी कानुन जारी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।