काठमाडौं- नेपाली कांग्रेसले ‘एक स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’को अवधारणा घोषणा गरेको छ। आफ्नो घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसले पाँच वर्षभित्र ‘एक स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’को अवधारणा कार्यान्वयन गरिने घोषणा गरेको हो।
कांग्रेसले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको विद्यमान सेवा सुविधामा १०० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गर्ने समेत घोषणापत्रमा उल्लेख गरेको छ।
'दक्ष र सुरक्षित स्वास्थ्यकर्मी भन्ने मान्यताका साथ स्वास्थ्य जनशक्तिलाई उत्प्रेरित र टिकाइराख्न रूचि र विज्ञता अनुसार समायोजन, व्यवस्थापन, क्षमता अभिवृद्धि र प्रोत्साहन प्याकेजको व्यवस्था गरिने छ। चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको विद्यमान सेवा सुविधामा १०० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरी पाँच वर्षभित्र क्रमशः 'एक स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था को अवधारणा कार्यान्वयन गरिने छ,' घोषणापत्रमा लेखिएको छ।
यसअघि पनि यस्तै कार्यक्रम कार्यान्वयनमा ल्याउने प्रयासहरु भएका थिए। तर कार्यान्वयनमा आउन भने सकेको छैन। दुई वर्षअघि उक्त कार्यक्रम लागू गर्ने भन्दै १० वटा अस्पताल छनोट पनि भएका थिए। तर डाक्टरले मात्र भत्ता पाउने गरी कार्यविधि बनाएको भन्दै स्वास्थ्यकर्मीले नै विरोध गरेका थिए।
कांग्रेसको घोषणापत्रमा भने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई समेत भत्ता दिने उल्लेख छ। साथै, शिक्षण अस्पतालहरू मार्फत् दुर्गम क्षेत्रका गाउँपालिका नगरपालिकाहरूका आधारभूत अस्पतालमा विशेषज्ञ सेवाहरू उपलब्ध गराइने समेत घोषणापत्रमा उल्लेख गरिएको छ।
घोषणापत्रमा एकीकृत स्वास्थ्य पूर्वाधार मापदण्ड अनुरूप पाँच वर्षभित्र स्वास्थ्य संस्था नभएका २६०० वडामा आधारभूत स्वास्थ्य केन्द्र, सबै गाउँ-नगरपालिकामा विशेषज्ञ चिकित्सक सहितको प्राथमिक अस्पताल, सबै उपमहानगरपालिका र महानगरपालिकामा विशेषज्ञ सेवाहरू सहितको अस्पताल संचालन गरिने पनि भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।