काठमाडौं– नेकपा (एमाले)का नेता डा भीम रावलले विपक्षी दलका नेताहरूलाई उम्मेदवार बनाएको विषयमा प्रश्न गरेका छन्।
एमालेको चुनाव चिह्न लिएर मैदानमा उत्रिएका कमल थापा सहितका नेताहरूमाथि प्रश्न उठाउँदै उनले एक व्यक्ति दुई पार्टीको नेता र उम्मेदवार कसरी बन्छ मिल्छ भन्दै सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्।
‘चुनाव स्वच्छ, मर्यादित र कानूनसम्मत हुनैपर्छ। अलग पार्टीका प्रमुख कमल थापा, हृदयश त्रिपाठी र एकनाथ ढकालले आफ्ना उम्मेदवारका पत्रमा सही गर्नुका साथै एमालेको उम्मेदवार बनेका छन्,’ नेता रावलले ट्विटरमा लेखेका छन्, ‘के एउटै व्यक्ति एकै समयमा दुईवटा पार्टीको नेता र उम्मेदवार बन्न मिल्छ र?, कानून र लोकतान्त्रिक मान्यता के हो?'
अछाम क्षेत्र नम्बर १ बाट एकल उम्मेदवारमा सिफारिस भएका रावलको टिकट खोसिएसँगै पछिल्लोसमय उनी सामाजिक सञ्जालमा आक्रमक तरिकाले प्रस्तुत भइरहेका छन्। उनको क्षेत्रमा नेकपा (माओवादी केन्द्र) परित्याग गरी एमाले रोजेका झपट बोहरा चुनावी प्रतिस्पर्धामा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।