काठमाडौं- काठमाडौं- ९ बाट उम्मेदवारी दिएका मिलन पाण्डेले तीन दिनभित्र कम्पनी खोल्न सकिने र एकैदिनमा कम्पनी बन्द गर्न सकिने नीतिको लागी नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आगामी निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा उनले नयाँ उद्यमीलाई कर छुट, युवा उद्यमीलाई लगानी, व्यवसायीलाई प्रोत्साहन गर्ने नीतिको नेतृत्व गर्ने पनि बताएका छन्।
'शिक्षामा बजेट बढाउने र संविधान अनुसार शिक्षालाई पूर्ण निशुल्क गर्न संसदमा लबिंङ गर्नेछौँ। फरक क्षमता रहेका बालबालिकाहरुका निम्ति गुणस्तरीय शिक्षाको जिम्मेवारी सरकारले लिने नीति लागू गर्नेछौं', घोषणापत्रमा भनिएको छ, 'सक्नेले स्वास्थ्य बिमा आफै गर्ने, नसक्नेलाई सरकारले गरिदिने नीति बनाउन पहल गर्नेछौं। आर्थिक अवस्थाका कारण कोहि पनि नागरिकले मर्नु पर्दैन भन्ने प्रत्याभूति गराउनेछौं।'
घोषणापत्रमा बुँदागत रुपमा सात प्रतिबद्धता व्यक्त गरिएको छ। उनले उन्नत संविधान नै समाधान, खुल्ला सिंहदरबार- खुल्ला संसद्, शिक्षा- स्वास्थ्यमा सुधार नै समृद्धिको आधार, संस्कृति सम्पदा नै सम्पत्ति, अब नोटसँगै भोट पनि चल्ने, भ्रष्टाचारको भण्डाफोर र महिला पुरुष बराबर जस्ता बुँदाहरुमा आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्।
पाण्डेले संसद्मा आफ्नो भूमिका पनि उल्लेख गरेका छन्। 'महत्त्वपूर्ण विधेयकलाई स्थानीय माझ ल्याएर छलफल चलाउने छु। त्यहाँ उठेका र नागरिकले राख्नुभएका सुझावलाई संसद्मा प्रस्तुत गर्नेछु', घोषणापत्रमा भनिएको छ।
संसद्मा आफ्नो १०० प्रतिशत सक्रिय उपस्थिति रहने प्रतिबद्धता व्यक्त गरिएको छ। 'संसद्मा हावा तरिकाले बोल्दिन। संसद्मा पाउने प्रत्येक सेकेन्डको गरिमा राख्नेछु। प्रत्येक नीतिमा अध्ययन, अनुसन्धान, तथ्य र नागरिकको भावनामा टेकेर आफ्ना विचार प्रस्तुत गर्नेछु। आवश्यक परे, संसदभित्रनै रचनात्मक अभियान छेड्ने छु', घोषणापत्रमा भनिएको छ।
पाण्डेको संक्षिप्त घोषणापत्र पढ्नुहोस्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।