काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १ मा २१ राजनीतिक दलले भाग लिएका छन्।
सो क्षेत्रमा २१ विभिन्न दलबाट ३८ र स्वतन्त्रबाट २४ गरी जम्मा ६२ जनाको उम्मेदवारी परेको काठमाडौं जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद अधिकारीले जानकारी दिए।
उनका अनुसार क्षेत्र नं १ ‘क’मा आठ राजनीतिक दल र सात स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यस्तै क्षेत्र नं १ ‘ख’मा नौ राजनीतिक दल र स्वतन्त्रबाट छ जनाले उम्मेदवारी दिएका छन्।
प्रतिनिधि सभा सदस्यको एक पदका लागि काठमाडौं क्षेत्र नम्बर १ मा दलको तर्फबाट २१ र स्वतन्त्रबाट ११ गरी कूल ३२ जनाको उम्मेदवारी परेको अधिकारीले जानकारी दिए।
कूल ५४ हजार १८ मतदाता रहेको उक्त क्षेत्रमा प्रदेश सभा ‘क’मा २६ हजार चार सय ३५ र प्रदेश सभा ‘ख’मा १८ हजार पाँच सय ८३ मतदाता छन्। तीमध्ये २३ हजार चार सय ४८ महिला र २१ हजार पाँच सय ७० पुरुष मतदाता रहेका छन्।
सो क्षेत्रमा काठमाडौं महानगरपालिकाका चारवटा वडा समेटिएका छन्। यस निर्वाचन क्षेत्रमा काठमाडौं महानगरका १०, ११, २९ र ३१ वडा समेटिएका छन्। प्रदेश सभा ‘क’तर्फ काठमाडौं महानगरका १०, ११ र २९ वडा तथा प्रदेश सभा ‘ख’मा काठमाडौं महानगरको ३१ वडा समेटिएको छ।
काठमाडौं क्षेत्र नम्बर १ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्र निर्धारण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।