काठमाडौं– नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघीय मुख्यालय, सैनिक मामिलाका सल्लाहकार जनरल बिरामे डियपबीच भेटवार्ता भएको छ।
नेपाली सेनाको मुख्यालय जंगी अड्डामा भएको भेटवार्तामा विश्व शान्ति स्थापनामा नेपाली सेनाले पुर्याएको योगदानका बारेमा चर्चा भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
संयुक्त राष्ट्रसंघ स्थापना दिवसको अवसरमा नेपाली सेनाले आयोजना गरेको २ दिने विशेष कार्यक्रममा सहभागी हुन जनरल डियप आइतबार नेपाल आइपुगेका थिए।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपत्यका पृतना हेडक्वार्टरका पृतनापति उपरथी योगराज शर्माले स्वागत गरेका थिए।
प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा नेपाली सेनाले विश्व शान्ति स्थापनामा पुर्याएको योगदानका साथै भविष्यमा समेत नेपाली शान्ति सैनिकहरुको आवश्यकता तथा सहभागिताको बारेमा छलफल भएको जनाइएको छ।
छलफलका क्रममा जनरल डियपले नेपाली शान्ति सैनिकहरुले विभिन्न शान्ति मिशनहरुमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनहरुमा पनि सोको निरन्तरता हुने विश्वास व्यक्त गरे।
प्रधान सेनापति शर्माले संयुक्त राष्ट्रसंघबाट हालसम्म प्राप्त सहयोग तथा अवसरको लागि धन्यवाद दिनुका साथै यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे। प्रधान सेनापति शर्माले नेपाली सेना अझ व्यवसायिक रुपमा प्रभावकारी ढंगबाट शान्ति मिशनहरुमा खटिने कटिबद्धता व्यक्त गरे।
संयुक्त राष्ट्रसंघ मुख्यालयबाट भएको यस किसिमको उच्चस्तरीय भ्रमण तथा भेटघाटले नेपाल तथा नेपाली शान्ति सैनिकहरुले विश्व शान्ति स्थापनामा पुर्याएको योगदानको अन्तर्राष्ट्रिय जगतबाट उच्च मुल्याङ्कन भएको विश्वास नेपाली सेनाले लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।