काठमाडौं– बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पुनः दुई दिन म्याद थप भएको छ। जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई पुनः २ दिन थुनामा राख्न आदेश दिएको हो।
अनुसन्धान सक्याएर प्रहरीले शुक्रबार नै जिल्ला सरकारी वकिल कार्यालयमा फाइल पेस गरे पनि तिहार बिदाका कारण थुनछेक बहस हुन नसक्ने भन्दै आइतबार म्याद थपका लागि उपस्थित गराएको थियो।
सो क्रममा २ दिनको म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
सन्दीपविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ। १७ वर्षीया किशोरीले आफूमाथि सन्दीपले काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालमा भदौ २१ गते किटानी जाहेरी दिएकी थिइन्।
उक्त घटना लगत्तै क्रिकेट खेल्न विदेश पुगेका सन्दीप नर्फिकएपछि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत् डिफ्युजन नोटिस नै जारी भएको थियो।
त्यसपछि सन्दीप असोज २० गते नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ परेका थिए। प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर उनीमाथि बलात्कारको अनुसन्धान अघि बढाइएको थियो।
अहिले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा फाइल पेस भइसकेको छ। आफूमाथि लागेको आरोप भने सन्दीपले अस्वीकार गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।