काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक पारित गर्न नदिने र संविधान संशोधनको विपक्षमा रहेकाहरु मधेशमा सक्रिय भइरहेकाले त्यसलाई चिरेर अघि बढ्नुपर्ने बताएका छन्।
पाँच दलीय गठबन्धनको मधेश प्रदेश स्तरीय संयुक्त भेलालाई जनकपुरमा सम्बोधन गर्दै उनले अब मतदातालाई अग्रगमनको पक्षमा हो कि पश्चगमनको पक्षमा हो छुट्टिन आग्रह गरेका छन्।
आफूहरुले संविधान संशोधनमार्फत् मधेशी जनतालाई अधिकार दिन खोज्दा केपी शर्मा ओलीले नै संविधान संशोधन गर्न नदिएको बताए। सत्ता गठबन्धनले नागरिकता समस्या हल गर्ने भन्दै विधेयक ल्याए पनि ओलीले रोकेको आरोप लगाए।
‘हामीले त मधेशी जनताको अधिकारका लागि विधेयक ल्याएका हौं। तर त्यो विधेयक कसका कारण जारी हुन सकेन?’ उनले प्रश्न गरे, ‘गठबन्धनले निर्णय गरेर प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको विधेयक राष्ट्रपतिबाट किन प्रमाणीकरण भएन?’
दुईवटा सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधान मिचेको दाबी गरे। उनले मध्यरातमा प्रतिनिधि सभा विघटन गर्ने तर संसद्बाट पारित भएको विधेयक रोक्ने काम राष्ट्रपतिबाट भएको बताए।
आफ्नो सत्ता टिकाउन अध्यादेश ल्याएका ओलीले गठबन्धन दलले ल्याएको विधेयक रोक्न खोजेर नाटक गरेको आरोप लगाए। उनले मतदातालाई प्रश्न गर्दै भने, ‘मधेशविरुद्ध विष वमन गर्नेहरु विजयी भएजस्तो देखिने। तर मधेशको अधिकारका निम्ति लड्नेहरु पछि परेको देखिने किन भयो?’
संविधान र लोकतन्त्रको रक्षा गर्न गठबन्धनका सबै दलहरु एकठाउँमा उभिएको दाबी गरे। जनताको अधिकार खोस्ने कार्य हुने देखिएपछि आफूहरुले गठबन्धन अनिवार्य रहेछ भनेर निर्माण गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।