सुर्खेत– सुर्खेत जिल्ला प्रहरी कार्यालयले लागु औषध (ब्राउन सुगर)सहित पाँच जनालाई पक्राउ गरेको छ।
सुर्खेतको मुख्य नाका सुब्बा कुनाबाट गाडी चालक वीरेन्द्रनगर नगरपालिका ११ निवासी ३० वर्षीय गङ्गे सुनार, ३९ वर्षीय दीपक ढकाल, ३० वर्षीय नवीन वक्स र डुङ्गेश्वर गाउँपालिका–३ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१०मा बस्दै आएका १७ वर्षीय लोचन रावललाई दुई पुरिया ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।
गएराति २३:४५ बजे नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा १७ च ७९६९ नम्बरको स्कार्पियो गाडी सुब्बा कुनामा जाँच गर्दा चालकको सिट पछाडि सिट कभरको खल्तीमा नापतौल नभएको दुई पुरिया ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको उनले बताए।
प्रनाउ कार्कीका अनुसार भारतको बहराइज नानपरा घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गण्डकी लाइन बस्ने २६ वर्षीय लियाकत अलीलाई पनि तीन ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ।
भेरीगङ्गा नगरपालिका–१२ सुर्खेतमा चेकिङमा खटिएका टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा ५ च ३७७२ नम्बरको फोर्स गाडीमा जाँचका क्रममामा अलीलाई पक्राउ गरेको थियो। पक्राउ गरिएका पाँचै जनालाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।