विराटनगर- नेपाली कांग्रेस सभापति देउवाले कुनै कन्फ्युजनमा नरहेर गठबन्धन जिताउन निर्देशन दिएका छन्। प्रदेश १ स्तरीय गठबन्धनका कार्यकर्ता भेलामा बोल्दै गणतन्त्र रक्षाका लागि गठबन्धन भएको दोहोर्याए।
उनले भने, ‘अब कुनै दोधार छैन। जहाँ रुख छ त्यहाँ रुखमा भोट हाल्ने, जहाँ हँसिया-हथौडा छ, त्यहाँ हँसिया-हथौडा र जहाँ कलम छ, त्यहाँ कलममा भोट हाल्ने। कुनै कन्फ्युजन हुने कामै छैन।’
उनले गणतन्त्रको रक्षाका लागि गठबन्धन भएको बताउँदै जिताउनुपर्ने दाबी गरे। उनले गणतन्त्र ल्याउन, संविधान बनाउनसमेत सहकार्य गरेको बताउँदै शंका नगर्न आग्रह गरे। यसपल्ट त झन् बढी आवश्यक रहेको उनको भनाइ थियो।
गठबन्धनका कारण अवसर नपाएर चित्त दुखाउनेहरुलाईसमेत उनले गठबन्धनको सरकार हुँदा ठाउँ हुने भन्दै थमथमाउने प्रयास गरे।
उनले थपे, ‘गठबन्धनकै सरकार भयो भने त धेरै ठाउँ हुन्छ नि। सबैका लागि ठाउँ बनाउनका लागि पनि जित्नुपर्छ। त्यसैले सबै ठाउँमा गठबन्धन विजय गराउनुहोस् भन्न चाहन्छु।’
पहिले गठबन्धनको विरोध गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीलेसमेत गठबन्धन गरेको उनले उल्लेख गरे। ‘ओलीजीले पनि गठबन्धन नै गर्नुपर्यो। आफ्नो क्षेत्रमा पनि भएको छ। मधेशमा गर्नुभएको छ,’ उनले भने, ‘लोकतन्त्र स्थायी गराउन, गणतन्त्र स्थायी गराउन सत्ता गठबन्धनले जित्न आवश्यक छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।