काठमाडौंं– दिगो विकासको लक्ष्यमा युवा नेतृत्वबीचको कार्यशाला गोष्ठी शनिबार काठमाडौंमा सम्पन्न भएको छ। युवा फोरममा ९३ जना युवाले भाग लिएका थिए। त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा आयोजना भएको यो कार्यक्रममा विभिन्न राष्ट्रिय निकाय, सरकारी, गैरसरकारी, निजी क्षेत्र गरि लगभग १ सय ५० जनाको उपस्थिति रहेको थियो।
युवा प्रतिनिधी र प्रस्तोताबीच समावेशी र गुणस्तरीय शिक्षा, सफा पानी र सरसफाइको पहँुच, आधुनिक उर्जामा सर्वसाधारणको पहुँच, शान्तिपूर्ण र समावेशी समाजको निर्माण तथा न्यायमा सबैको पहुँच, कार्यन्वयन प्रणाली मजबुत बनाउने विषयहरु सम्बन्धि बहस भएको थियो।
एशिया—प्रशान्त शान्ति र विकास सेवा सञ्जालको फोरमले स्वमंसेवा, युवाको संलग्नता र सामाजिक उत्तरदायित्वलाई विशेष जोड दिएको थियो। देशविकास गर्न सबैभन्दा महत्वपूर्ण भूमिका युवाको रहने हँुदा युवाहरुलाई विकासशील छलफल, बहस र यस्ता विभिन्न एजेन्डामा संलग्न गराउनु पर्छ भन्ने मान्यतालाई अघि सार्दै ग्लोबल पीस फाउण्डेसनले यो कार्यक्रमको आयोजना गरको सञ्चार अधिकृत प्रियङ्का चन्दले जानकारी गराइन्।
‘युवाहरुको अधिकार र कर्तव्य उजागर गर्दै अवसरहरु सिर्जना गर्न, क्षमता अभिवृद्धि गर्न, अधिकारहरु प्रदान गर्न, सिर्जनशिलताको पहिचान गर्न र उचित जिम्मेवारी दिने विषयमा समन्वयपूर्वक युवा भूमिका निर्माणका लागि मार्ग प्रर्दशन गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो,’ उनले भनिन्।
फोरममा ग्लोबल पीस फाउण्डेसन नेपालका अध्यक्ष रामरोहन पन्त, कोड फोर नेपालका सिभिल उद्यमी निकेश बलामी, युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामप्रसाद थपलिया, राष्ट्रिय युवा परिषदका कार्यकारी बोर्ड मेम्बर भावना भट्ट र नेपाल एकडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका उपकुलपति प्रोफेसर डा. जीवराज पोखरेलले आफ्नो मन्तब्य राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।