काठमाडौं– रुपन्देही–२ बाट प्रतिनिधि सभा सदस्यका लागि दिएको उम्मेदवारी खारेज भएपछि सर्वोच्च अदालत पुगेका एकीकृत समाजवादीका नेता राजु गुरुङको मुद्दाको पेसी एक नम्बरमा तोकिएको छ।
शुक्रबार न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको छ। सुरूमै पेसी भएकाले उक्त मुद्दा सुनुवाइ हुने सम्भावन देखिन्छ।
बुधबार अन्तिममा पेसी तोकिँदा हेर्न नभ्याइने हुँदै स्थगित भएको थियो। न्यायाधीशद्वय शुष्मालता माथेमा र कुमार रेग्मीको इजलासमा पेसी गरेको थियो।
यसअघि न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको एकल इजलासले गुरुङको उम्मेदवारी खारेजी गर्ने निर्णय कार्यान्वयन नर्गन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
एकल इजलासले कात्तिक २ गते दुवै पक्षलाई छलफलमा बोलाएको थियो। सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आफ्नो निर्णय सच्याउँदै गुरुङको उम्मेदवारी कायम गरेको थियो।
शुक्रबार दुवै पक्षको बहसपछि अन्तरिम आदेश कायम गर्ने कि नगर्ने विषयमा निर्णय हुनेछ। निर्वाचन आयोग र निवेदक दुवैको कुरा सुनेर जारी हुने आदेशले गुरुङले निर्वाचन लड्न पाउने कि नपाउने निर्णय हुनेछ।
उक्त क्षेत्रमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।