तनहुँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गरिएको स्पष्ट पारेका छन्।
‘प्रतिगमन शक्तिलाई पराजित गर्नुपर्ने अहिलेको मुख्य चुनौती हो, यसैका लागि बनेको गठबन्धनलाई बलियो बनाउनुको विकल्प छैन’, उनले भने।
व्यास नगरपालिका–२ मा निर्वाचन सम्पर्क कार्यालयको शुक्रबार उद्घाटन गर्दै उनले गठबन्धनलाई दिगोरूपमा अगाडि लैजान सकिए मात्र संविधानको रक्षामा सहयोग पुग्ने बताए।
व्यवस्था परिवर्तन भए पनि यसको सही व्यवस्थापन हुन नसकेकाले जनताको अवस्था बदलिन नसकेको वरिष्ठ नेता पौडेलको भनाइ छ।
हरेक नागरिकमा अनुशासन र आचरणमा राख्ने पद्धति आवश्यक परेको जनाउँदै उनले लोकतन्त्रको उपयोग गर्न सिक्नुपर्ने धारणा राखे।
गाउँमा रोजगारी र आम्दानीको अवसर सिर्जना गर्नुपर्ने अहिलेको चुनौती रहेको र त्यसका लागि आफू क्रियाशील रहेको पौडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।