काठमाडौं– संघ तथा प्रदेशको निर्वाचनको मुखमा सशस्त्र प्रहरी बल (एपीएफ) का एक नायब महानिरक्षिक (डीआईजी) र चार उपरीक्षक (एसपी) को काज सरुवा गरिएको छ।
गृह मन्त्रालयले मानव स्रोत विभागमा दरबन्दी भइ नम्बर ७ बाहिनी मुख्यालय अत्तरिया कैलालीमा कार्यरत रहेका डीआईजी दुर्गाप्रसाद भट्टराईको सरुवा गरिएको छ। उनलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गर्दै बाहिनीको कमाण्डमा एसएसपीलाई पठाइएको छ।
डीआईजी भट्टराईको ठाउँमा नम्बर १ बराह बाहिनीका एसएसपी विश्वकुमार भट्टराईलाई पठाइएको छ।
त्यसैगरी चार एसपीको पनि काज सरुवा गरिएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालयले युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, नुवाकोटमा रहेका एसपी तिर्थराज पौडेललाई ६ नम्बर गण हेडक्वाटर सप्तरीमा काज सरुवा गरेको छ।
सप्तरीका एसपी प्रदीप खड्कालाई भने पौडेलको ठाउँ युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, नुवाकोटमा सरुवा गरिएको छ। आफू मातहतका एक असईको हत्या भएपछि एसपी खड्काको जिम्मेवारी खोस्दै केही दिन अघिमात्रै हेडक्वार्टर तानिएको थियो। अहिले उनै एसपी खड्कालाई ककनी पठाइएको छ।
त्यस्तै, सशस्त्रको हेडक्वार्टरस्थित मानव स्रोत विभागमा कार्यरत रहेका एसपी रमेश विक्रम शाहीलाई सशस्त्रको नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीमा काज सरुवा गरिएको छ।
जवान तालिम शिक्षालय नौवस्ता बाँकेका एसपी डम्बरबहादर बिष्टलाई नम्बर ४४ गण हेडक्वार्टर दार्चुला पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।