काठमाडौं– नेकपा एकीकृत समाजवादीले २ हजार ५०१ सदस्यीय निर्वाचन परिचालन समिति बनाएको छ।
अध्यक्ष माधवकुमार नेपाल संयोजक रहेको समितिमा केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय जेष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय परिषद्का पदाधिकारी एवं सदस्य र पार्टीका प्रदेश कमिटीका पदाधिकारी एवं जनवर्गीय संगठनका पदाधिकारी रहेका छन्।
यसैगरी, महासचिव बेदुराम भुसालको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन परिचालन केन्द्रीय सचिवालय समेत गठन गर्ने निर्णय भएको नेकपा एसले बताएको छ।
सचिवालयले निर्वाचन परिचालन तथा व्यवस्थापनका सम्बन्धमा तत्काल आवश्यक निर्णय गर्ने तथा तत्तसम्बन्धमा सम्पादन गर्नुपर्ने कार्य गर्ने बताइएको छ।
निर्वाचन परिचालन केन्द्रीय सचिवालयमा भुसालका अलावा गंगालाल तुलाधर, विजय पौडेल, विश्वनाथ प्याकुरेल, सावित्रा भुसाल, प्रमोदराज शर्मा, प्रेमल खनाल, लक्ष्मण केसी, केदार सञ्जेल, विष्णु लम्साल, घनप्रसाद गौतम रहेका छन्।
यस्तै, मोहन गौतम, रमेशरञ्जन झा, उदय श्रे, खेमराज पौडेल, सीताराम नेपाल, द्रोणाचार्य क्षेत्री विश्वमणी सुवेदी, प्रकाश खतिवडा, विशाल भण्डारी, सुदेश पराजुली र नितेश पौडेल पनि यो समितिमा छन्।
निर्वाचन परिचालन केन्द्रीय सचिवालयको प्रथम बैठकले निर्वाचन परिचालन तथा व्यवस्थापनका सम्बन्धमा महत्त्वपूर्ण निर्णय गर्दै आम जनसमुदायलाई संविधान र लोकतन्त्रको रक्षा, राष्ट्रियतको जगेर्ना तथा सुशासन एवं समृद्धीको आकांक्षालाई पूरा गर्न एकीकृत समाजवादीलाई मतदान गर्ने आह्वान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।