काठमाडौं– मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा रहेका २८ जनाविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ।
प्रतिनिधि सभातर्फ १३ र प्रदेशसभातर्फका १५ उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले केही दिनअघि समानुपातिकको सूचीमा रहेका व्यक्तिहरुको नाम सार्वजनिक गर्दै उजुरी आह्वान गरेको थियो।
उजुरी दर्ता हुने समानुपातिक उम्मेदवारहरूमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारदेखि कांग्रेसका दिवंगत नेता नविन्द्रराज जोशीकी श्रीमतीसम्म रहेका छन्।
त्यस्तै, सरकारी लाभको पदमा बसेर बन्दसूचीमा नाम राखिएकाहरूको उम्मेदवारी खारेज गर्न माग गरिएको छ। केही उजुरीमा कलष्टमा नपर्ने व्यक्तिहरुलाई राखिएकाले उनीहरुको खारेज हुनुपर्ने दाबी गरिएको छ।
आदिवासी जनजाति ,मधेशी लगायतका सूचीमा राखिएका व्यक्तिहरू उक्त समूहको नभएको दाबी उजुरीमा गरिएको छ। आयोगका परेको उजुरीमा अध्ययनपछि कानुनसम्वत निर्णय गरिने प्रवक्ता शालिकराम शर्मा पौडेलले बताए।
आयोगको ऐन विपरीत हुने गरी कसैका नाम समावेश भएको पाइएमा खारेज समेत हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।