काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीका लागि सबै किसिमबाट योग्य रहेको बताएका छन्।
आगामी निर्वाचनमा जित हात पार्ने आफ्नो पहिलो लक्ष्य रहेको र नेपाली कांग्रेसको संसदीय नेतामा चुनिएपछि प्रधानमन्त्री बनेर देश चलाउन आफू हरकिसिमबाट योग्य रहेको उनको दाबी छ।
नेता सिंहले आफूले पार्टीका तल्लो स्तरका कमिटीदेखि महामन्त्रीसम्म बनेर पार्टी सञ्चालन गरिसकेको उल्लेख गर्दै सरकारको नेतृत्व गर्न आफू कमजोर नभएको बताए। उनले देशको उपप्रधानमन्त्री बनिसकेको उल्लेख गर्दै अबको निर्वाचनपछि हरेक किसिमबाट प्रधानमन्त्री बनेर देश सञ्चालन गर्न र देशमा सुव्यवस्था, राजनीतिक स्थिरता गराउन आफू सक्षम रहेको बताए।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा बुधबार नेता सिंहले आफ्ना अनुभवले कुन पदका लागि योग्य छु भन्ने कुरा बोलिसकेको भन्दै प्रधानमन्त्रीका लागि अवसर पाए देशमा केही गरेर देखाउने भोक आफूमा रहेको बताए।
नेता सिंहले काठमाडौं–१ मा आफूबिरुद्ध धेरै स्वतन्त्र र अन्य पार्टीका उम्मेदवारहरु खडा भएपनि स्थानीयहरुको कामका लागि आफू नै योग्य रहेको दाबी गरे।
‘यो बहुलवादमा आधारित संसदीय शासन प्रणाली हो। हरेक ५ वर्षमा हुने यो निर्वाचनमा नयाँ विचार कसैले दिनसकेको छैन। अहिले उम्मेदवार हुन आउनुभएका सबैलाई मेरो फ्रि कम्पिटिसनमा अवसर छ’, उनले भने, ‘हामीले गालीगलौजमा उत्रिने, हुँदै नभएको कुरा भन्ने भन्दापनि शुद्ध प्रतिस्पर्धामा उत्रिने संस्कृतिको विकास गर्नुपर्छ। मलाई सबैले चिनेको छ, मेरो यसमा प्लस प्वाइन्ट छ। अरु त परीक्षणमा छन्। भएको दल भत्काएर अर्को दलमा लागेर आएका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।