काठमाडौं– चितवन–१ मा नेपाली कांग्रेसका बागी उम्मेदवार राजेन्द्र प्रसाद बुर्लाकोटीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै पार्टीको आधिकारिक उम्मेदवार विश्व पौडेललाई समर्थन गरेका छन्।
बुर्लाकोटीले सोमबार विज्ञप्ति निकालेर पार्टीले आफूलाई भविष्यमा उचित मूल्यांकन गर्ने आश्वासन दिएकाले आफ्नो उम्मेदवारी फिर्ता लिँदै पार्टीको आधिकारिक उम्मेदवार पौडेललाई समर्थन गर्ने निर्णय गरेको जनाएका छन्।
नेपाली कांग्रेसले राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष समेत रहेका विश्व पौडेललाई चितवन–१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ। उक्त निर्णयप्रति असन्तुष्टि राख्दै बुर्लाकोटीले स्वतन्त्र उम्मेवारी दिएका थिए।
सोमबार बुर्लाकोटीलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा भेटेका थिए। त्यसपछि उनी आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै पौडेललाई समर्थन गर्ने निर्णयमा पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।