काठमाडौं– नेपाली कांग्रेसभित्र आउँदो निर्वाचनपछि बन्ने सरकारको नेतृत्व कसले गर्ने बहस चलिरहँदा प्रवक्ता प्रकाशशरण महतले अहिले नै त्यस बारेका कुनै टिप्पणी नगर्ने बताएका छन्।
कांग्रेसका महामन्त्री गगन थापा र पूर्वमहामन्त्री शशांक कोइरालाले आफ्नो निर्वाचन प्रचार प्रसारको काममा आफूहरु अगामी प्रधानमन्त्रीको दाबेदार भएको बताउने गरेका छन्।
त्यसपछि यो विषयले कांग्रेसभित्र बहस सिर्जना गरेको छ। तर, प्रवक्ता महतले सोमबार आयोजित पत्रकार सम्मेलनमा आउँदो निर्वाचनपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने निश्चित भएपनि कसको नेतृत्व भन्ने विवाद गरिरहनु नपर्ने बताए।
‘अहिले हाम्रो सभापतिज्यू संसदीय दलको नेता हुनुहुन्छ र सरकार पनि उहाँकै नेतृत्वमा छ’, महतले भने, ‘अहिले पहिला निर्वाचन जितेर आऔं। त्यसपछि यसबारेमा छलफल र सल्लाह गरौंला।’
अहिले आफूहरु कसरी कांग्रेस र गठबन्धन बढी भन्दा बढी सिटमा जित्न सकिन्छ भन्नेमा केन्द्रित रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।