बुटवल– सर्वोच्च अदालतको आदेशपछि रुपन्देही–२ निर्वाचन अधिकृतको कार्यालयले राजु गुरुङको उम्मेदवारी कायम गरेको छ। यसअघि असोज २५ गते गुरुङको उम्मेदवारी खारेज गरिएको थियो।
निर्वाचन अधिकृतको कार्यालय रुपन्देही–२ का निर्वाचन अधिकृत उदविर नेपालीले सोमबार दिउँसो सूचना निकाल्दै गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगरिएको उल्लेख गरेका छन्।
सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका गुरुङले आफ्नो उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए। आइतबार सर्वोच्चले उम्मेदवारी खारेज नगर्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो।
न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आइतबार अल्पकालीन अन्तरिम आदेश दिएको हो। सर्वोच्चले अन्तरिम आदेशका निरन्तर हुने वा नहुने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई कात्तिक २ गते बोलाएको छ।
‘निर्णय कार्यान्वयन नगर्नु, नगराउनु, यथास्थितिमा राख्नु भनि यस कार्यालयको नाममा अल्पकालीन अन्तरिम आदेश जारी भएको हुँदा उक्त आदेश बमोजिम यस कार्यालयबाट निज उम्मेदवार राजु गुरुङको उम्मेदवार खारेज गर्ने यस कार्यालयको मिति २०७९/०६ / २५ मा भएको निर्णय कार्यान्वयन नगरि यथास्थितिमा राखिएको व्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराइन्छ’, निर्वाचन अधिकृतको कार्यालयको सूचनामा भनिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले चेक बाउन्स प्रकरणमा उच्च अदालत पाटनमा मुद्दा चलिरहेको भन्दै गुरुङको उम्मेदवारी बदर गरेको थियो। निर्वाचन कार्यालयको उक्त निर्णय बदर गरी आफ्नो उम्मेदवारी कायम गर्न माग गर्दै गुरुङले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।