काठमाडौं– सर्वोच्च अदालतले विजय गच्छदारदेखि रेशम चौधरीसहित ९ जनाको उम्मेदवारीविरुद्ध परेको रिट खारेज गरेको छ। उनीहरूविरुद्ध परेको रिट पहिलो सुनुवाइमै खारेज भएको हो।
न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कारण देखाऊ आदेश समेत जारी नगर्दै रिट खारेज गरेको हो। अधिवक्ता अनिल आचार्यले भ्रष्टाचार, ज्यान मुद्दामा दोषी ठहर भएका र अन्य विवादित व्यक्तिहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिन उम्मेदवारी दर्ता गराएकाले खारेज हुनुपर्ने जिकिर गर्दै रिट दायर गरेका थिए।
रिटमा विजय गच्छदारको भ्रष्टाचार मुद्दा विचाराधीन रहेको, रेशम चौधरी र लक्ष्मण थारुको कर्तव्य ज्यानमा दोषी ठहर भएको, प्रभु साह र सरिता गिरि विवादित व्यक्ति भएको, विक्रम पाण्डेले भ्रष्टाचार मुद्दामा विशेषबाट सफाइ पाएको र डीबी लामा पनि फरार आरोपित भएको दाबी गरिएको थियो।
रेशम र लक्ष्मणको हकमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले यसअघि नै उम्मेदवारी खारेज गरिसकेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।