काठमाडौं– उम्मेदवारी खारेजीविरुद्ध एकीकृत समाजवादी पार्टीका नेता राजु गुरुङले दायर गरेको रिटको सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ।
न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा गुरुङको मुद्दा पेसीमा रहेको छ। पेसीको दोस्रो नम्बरमा मुद्दा तोकिएको छ। रुपन्देही २ मा गठबन्धनका तर्फबाट उम्मेदवार भएका गुरुङको उम्मेदवारी खारेजी भएको थियो।
यसअघि उक्त मुद्दा शुक्रबार न्यायाधीश हरि फुयाँलको एकल इजलासमा परेको थियो। तर, निवेदकले नै स्थगित गरेका थिए। रुपेन्दही २ मा मुख्य निर्वाचन कार्यालयले खारेज गरेको उम्मेदवारीविरुद्ध एकीकृत समाजवादी पार्टीका उम्मेदवार गुरुङले सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरेका थिए।
उनीविरुद्ध बैंकिङ कसुरमा दोषी ठहर भएको भन्दै उजुरी दर्ता भएपछि निर्वाचन कार्यालयले खारेज गरेको थियो। उक्त क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विष्णु पौडेल चुनावी मैदानमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।