रोल्पा- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले लोकतन्त्र र संविधान रक्षाका लागि सत्ता गठबन्धनका दलहरुबीच चुनावी तालमेल भएको दावी गरेका छन्।
गृहजिल्ला रोल्पाको लिवाङमा शनिबार गठबन्धनद्वारा आयोजित पत्रकार सम्मेलनमा पुनले गठबन्धन निश्चित उद्देश्यमा आधारित रहेको बताए।
‘पटकपटक संसद् विघटन भयो र संविधान मिच्ने काम भयो। लोकतान्त्रिमाथि प्रहार भयो’, उनले भने, ‘संविधान र लोकतन्त्र बचाउन सडकमा संघर्ष गरेको शक्तिले सरकार बनायो, अहिले त्यही गठबन्धनको सरकार छ। हामीले निर्वाचनमा सँगसँगै जाने निर्णय गरेका छौं।’
पुनले माओवादी केन्द्र र कांग्रेसको मिलन इतिहासको आवश्यकता भएको औंल्याए। कुनै बेला दुई प्रमुख शक्तिबीच आमने-सामने लडाईं भएको स्मरण गर्दै उनले अहिले मिल्नु परिस्थितिको आवश्यकता भएको तर्क गरे।
‘हिजो माओवादी र कांग्रेस दुई ध्रुवजस्तो भएर लड्यौं। त्यतिबेला प्रतिस्पर्धा थियो, अहिले सहकार्य आवश्यक भएकाले गठबन्धन गरेका छौं,’ उनले भने।
पुन सत्ता गठबन्धनका तर्फबाट रोल्पाबाट उम्मेदवार छन्। उनी २०७४ को निर्वाचनमा पनि रोल्पाबाटै प्रतिनिधि सभामा निर्वाचित भएका थिए।
फरक प्रसंगमा पुनले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका साथै विकास तथा समृद्धि सत्ता गठबन्धनको साझा उद्देश्य भएको दावी समेत गरे। यसका साथै स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिप्रति गठबन्धन आवद्ध सबै दलबीच समान धारणा रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।