काठमाडौं- एमालेबाट राजीनामा दिएर रुपन्देही-१ मा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई पुनःस्थापना गर्ने क्रममा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाले नेतृत्वदायी भूमिका खेलेको बताएका छन्।
‘पहिलो संसद् विघटनपछि संसद् पुनःस्थापनाको नेता, त्यो पार्टीका अध्यक्षको हिसाबले प्रचण्ड नै हो। जसले त्यसको लिड गरेको थियो। दोस्रो संसद् पुनःस्थापनाको नेता नै शेरबहादुर देउवा हो’, शनिबार वाम-लोकतान्त्रिक गठबन्धनमध्ये माओवादी केन्द्रको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले भने।
उनले वाम-लोकतान्त्रिक गठबन्धनको राजनीतिक औचित्य, सन्दर्भ र वैधता रहेको बताए। उनले यो गठबन्धनलाई बचाउन र अगाडि लैजानुपर्ने बताए।
भुसाल उम्मेदवार भएको रुपन्देही- १ मा सत्ता गठबन्धनले उनलाई समर्थन गरेको छ। विशेगषरी सत्ता गठबन्धनबीच सिट बाँडफाँट हुँदा त्यस क्षेत्र माओवादी केन्द्रको भागमा परेको थियो। तर, भुसालले स्वतन्त्र उम्मेदवारी दिने भएपछि माओवादी केन्द्रले आफ्नो उम्मेदवारी दिएको थिएन। भुसालले त्रिभुज चुनाव चिह्न पाएका छन्।
कार्यक्रममा भुसालले नेकपा माओवादीले मंसिर ४ मा बाकस भरिभरि मत पाउने बताए। ‘नेकपा माओवादी केन्द्रको फौज यहाँबाट छुट्यो। अब यसले मंसिर ४ का दिन भरिभरि बाकस बोकेर मात्रै फर्किन्छ। त्यसपछि मात्रै यसले सास फेर्छ, थकाइ फेर्छ’, उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।